क्रोएसियामा वर्क पर्मिट पाउने नेपाली श्रमिकको सङ्ख्या तीव्र रूपमा बढिरहेको पाइएको छ । सन् २०२५ को पहिलो तीन महिनामा क्रोएसियाले जारी गरेका हरेक ५ वर्क पर्मिटमध्ये २ पर्मिट नेपालीले पाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।
क्रोएसियाको गृह अनुसार मार्च महिनामा ११ हजार वर्क पर्मिट जारी भएको छ । जसमध्ये ४ हजार ४ सय नेपालीले वर्क पर्मिट पाएका छन् । यो जारी गरिएको कुल वर्क पर्किटको ४० प्रतिशत हो ।
जबकि क्रोएसियाको छिमेकी मुलुक बोस्नियाका नागरिकलाई अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२० कम श्रमिक अनुमति पत्र दिइएको छ । सर्बियन श्रमिकका हकमा पनि १०० कम अनुमति पत्र जारी गरिएको छ ।
गएको जनवरी र फेब्रुअरीमा क्रोएसियाले ३४ हजार ४४० वर्क पर्मिट जारी गरेको थियो । जसमध्ये ८ हजार ४ सय नेपालीले वर्क पर्मिट पाएका थिए ।
योसँगै सन् २०२५ यता मात्रै १२ हजार ६ सय नेपालीले क्रोएसियाको वर्क पर्मिट पाएका छन् ।
तथ्याङ्कले क्रोएसियामा नेपाली श्रमिकको माग तीव्र रूपमा बढिरहेको पुष्टि गर्छ ।
क्रोएसियामा नेपालीको सङ्ख्या बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाल भित्रिने रेमिटेन्समा समेत पर्न थालेको छ । क्रोएसियाको केन्द्रीय बैङ्कका अनुसार सन् २०२३ मा मात्रै क्रोएसियामा बस्ने नेपालीले १० अर्ब ६५ करोड बढी रेमिटेन्स नेपाल पठाएका थिए ।