अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनपछि वर्क पर्मिट दिन रोक्ने प्रावधान समेटिएको विधेयक अमेरिकी संसद्मा दर्ता भएको छ ।
अमेरिकी सासंदहरुले अप्सनल प्राक्टिकल ट्रेनिङ प्रोग्राम (Optional Practical Training Program) बन्द गर्ने उद्देश्यले फेयरनेस फर हाई स्किल्ड अमेरिकन्स (Fairness for High-Skilled Americans) शीर्षकको विधेयक कंग्रेसमा पेस गरेका हुन् ।
हाल सो प्रोग्रामले एफ-वन भिसामा अमेरिका गएकाहरूलाई अध्ययन सँगसँगै अस्थायी रूपमा काम गर्ने अधिकार प्रदान गर्दछ। यसबाहेक, विद्यार्थीलाई डिग्री पूरा गरेपछि अर्को ३ वर्षसम्म अमेरिकामा रहने र काम गर्ने अनुमति दिन्छ । यसबाट विद्यार्थीहरूलाई कार्य अनुभव हासिल गर्न र विद्यार्थी ऋण तिर्न मद्दत गर्दछ।
हाल सो प्रोग्राम अन्तर्गत २ लाख ४२ हजार ७८२ नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकामा कामको सुविधा पाएका छन् ।
तर यस कार्यक्रमले उच्च दक्ष अमेरिकनको साटो अन्तर्राष्ट्रिय विद्यार्थीलाई सस्तो ज्यालामा काममा राख्ने प्रवृत्ति बढेको भन्दै बन्द गर्नुपर्ने तर्क सासंदहरुको छ । यस्तोमा कंग्रेसले यस विधेयक पारित गरेमा त्यसले अमेरिकामा रहेका नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा गम्भीर असर पर्ने देखिन्छ ।
नेपालजस्ता देशबाट ऋण काढेर अमेरिका गएका विद्यार्थीहरूलाई थप सङ्कट पैदा गर्नेछ ।
यस्तै, यसले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा समेत गिरावट आउने देखिन्छ ।