अमेरिकासँग बढ्दो व्यापारिक तिक्तताका माझ चीनले चीनले अमेरिकी हवाई जहाज खरिद रोकेको छ । चीन सरकारले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको नयाँ जहाज नलिन आफ्ना एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको हो।
चीनले नयाँ जहाज खरिदसँगै पहिल्यै सम्झौता भइसकेका जहाज समेत नलिन भनेको हो । यसबाहेक, अमेरिकी कम्पनीहरूबाट हवाई जहाजसम्बन्धी पार्टपुर्जाहरू समेत नकिन्न चीनले निर्देशन जारी गरेको छ ।
चीनले बोइङ जेट भाडामा लिएर सञ्चालन गरिरहेका र आयात करका कारण मार खेपिरहेका आफ्ना एयरलाइन्सहरूलाई सहयोग गर्ने उपायहरू खोजिरहेको पनि बताएको छ ।
गत बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथिको भन्सार बढाएर १४५ प्रतिशत पुर्याएका थिए । जसको जवाफ स्वरूप चीनले पनि अमेरिकी सामानमा भन्सार दर बढाएर १२५ प्रतिशत पुर्याएको छ।
तर चीन यतिमै रोकिएन र अमेरिकाबाट बोइङका जहाज नकिन्ने निर्णयमा समेत पुगेको छ ।
चीनको यो निर्णय लगत्तै बोइङ कम्पनीलाई सङ्कट पैदा भएको छ र सेयरको भाउ घटेको छ । अझ, चीन जस्तो प्रमुख व्यापारिक केन्द्रमा जहाज बिक्री नहुने भएपछि त्यसको अझ ठुलो मार बोइङमा पर्नेछ ।