कामदार एक्जिट भिसा

चैतमा साउदीले दियो १०७ नेपालीलाई घर फर्कने अनुमति

आप्रवासन आप्रवासन

साउदी अरबले चैत महिनामा १०७ जना नेपाली कामदारलाई एक्जिट भिसा प्रदान गरेको छ ।

साउदीस्थित नेपाली दूतावासको समन्वयमा विभिन्न कानुनी अड्चनमा फसेका नेपालीहरूलाई साउदीले घर फर्कन अनुमति दिएको हो । उनीहरूको साउदी आवासीय अनुमति पत्र इकामा नभएको, म्याद सकिएको वा हुरूब लागेको अवस्था थियो ।

इकामा नहुनु वा हुरूब भुक्तान नगर्नुलाई साउदीमा गैर कानुनी मानिन्छ । जसले गर्दा त्यस्तो अवस्थाका आप्रवासीले साउदीमा सजाय कटाउनु पर्ने हुन्छ ।

यस्तो अवस्थाका आप्रवासीलाई स्वदेश फर्कन साउदीले एक्जिट भिसा प्रदान गरेको हुनु पर्दछ । एक्जिट भिसा नभएसम्म आप्रवासी स्वदेश फर्कन पाउँदैनन् ।

एक्जिट भिसा लागेको खण्डमा पनि ६० दिनभित्र साउदी छोड्नुपर्ने हुन्छ । एक्जिट भिसा पाएसँगै अब उनीहरू नेपाल फर्कन पाउने छन् भने केही भने फर्किसकेका छन् ।

दूतावासमार्फत एक्जिट भिसाको प्रक्रिया निःशुल्क रूपमा हुन्छ । तर हवाई टिकट भने व्यक्ति स्वयंले जोहो गर्नुपर्ने हुन्छ ।

विभिन्न सानातिना कानुनी अल्झन सामना गरिरहेका आप्रवासीलाई स्वदेश फर्कन दिने नीति अनुरूप साउदीले एक्जिट भिसा दिइरहेको छ । फलस्वरूप नेपालीले समेत भिसा पाएका हुन् ।