अमेरिका छिर्न खोज्ने आप्रवासी

सीमापार गरेर अमेरिका छिर्न खोज्ने आप्रवासी ९५% ले कम

आप्रवासन आप्रवासन

अवैध रूपमा सीमापार गरेर अमेरिका छिर्न खोज्ने आप्रवासीको सङ्ख्यामा ९५ प्रतिशतले कमी आएको छ । अमेरिकाको सीमा सुरक्षा निकाय कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन, सीबीपीले सीमा पार गर्न खोज्ने आप्रवासीको सङ्ख्यामा ऐतिहासिक रूपमा कमी आएको जनाएको हो ।

सीबीपीका अनुसार मार्च महिनामा ७ हजार १४१ आप्रवासीहरू अवैध रूपमा दक्षिणी सीमा पार गर्ने क्रममा पक्राउ परेका छन् । जबकि गत वर्षको मार्चमा अवैध सीमापार गर्ने आप्रवासीको सङ्ख्या १ लाख ३७ हजार ५७३ थियो ।

सीबीपीले यसलाई ऐतिहासिक भनेको छ र यसअघि कहिले पनि यो तहको गिरावट नआएको उल्लेख गरेको छ ।

अघिल्लो महिना अर्थात् फेब्रुअरीको तुलनामा समेत मार्चमा अवैध रूपमा सीमापार गर्न खोज्ने आप्रवासीको सङ्ख्या १४ प्रतिशतले घटेको हो । फेब्रुअरीमा ८ हजार ३४६ आप्रवासी सीमापार गरेर अमेरिका छिर्ने क्रममा पक्राउ परेका थिए ।

सीबीपीका अनुसार पछिल्ला ४ वर्षमा सीमा पार गरेर अमेरिका छिर्न खोज्नेको दैनिक औसत सङ्ख्या ५ हजार १ सय थियो । तर अहिले त्यस्तो दैनिक औसत सङ्ख्या समेत ९५ प्रतिशतले घटेर २३० मा झरेको छ ।

यसले अमेरिकामा डोनाल्ड ट्रम्पले प्रशासन सम्हालेयता सीमा सुरक्षा र आप्रवासीको अवैध सीमापारमा व्यापक कडाइ गरिएको देखाएको छ।