पोखरा र भैरहवा (गौतम बुद्ध) अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट दिने निर्णय कार्यान्वयनको चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अप्रिल महिनाबाट यी विमानस्थलहरूमा यात्रुका लागि ३ हजार रुपैयाँ र पर्यटकका लागि १ हजार रुपैयाँ सेवा शुल्क छुट दिने तयारी भइरहेको छ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (IATA) मा पत्राचार गरिसकेको छ। यसै अनुरूप, पोखरा र गौतम बुद्ध विमानस्थलमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई पत्राचार गरिएको छ । IATA आयटा को ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (GDS) अपडेट भइसकेपछि मात्र टिकटमा सो छुट लागू हुनेछ, जसका लागि ४५ दिनको समय लाग्ने बताइएको छ।
मन्त्रिपरिषद्ले गत साउन २८ गते स्वीकृत गरेको कार्य योजनामा पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवर्द्धन गर्न यात्रु सेवा शुल्क छुटको निर्णय गरेको थियो । तर, नागरिक उड्डयन मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ६ महिना ढिलाइ गरेको हो ।
माघ १० गते मात्र मन्त्रालयले हवाई टिकटमा यात्रु सेवा शुल्क छुट दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । अब IATA को सिस्टममा अपडेट भएपछि मात्रै यो सुविधा यात्रुले पाउनेछन् ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्स र चिनियाँ सिचुवान एयरलाइन्सले व्यावसायिक उडान सुरु गर्ने तयारी गरिरहेका छन्।
गौतम बुद्ध विमानस्थलबाट भने थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाई दुबई, र नेपाल वायुसेवा निगमले नियमित उडान गरिरहेका छन् । छुटको व्यवस्था लागू भएसँगै दुवै विमानस्थलबाट उडान लिने यात्रु सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।