घुस लिएर आप्रवासीलाई अमेरिका छिराउनमा अमेरिकी सीमा सुरक्षाकर्मीहरु नै संलग्न हुने गरेको पाइएको छ ।
हालै सो क्रममा २ जना सुरक्षाकर्मीहरु पक्राउ परेपछि मिलेमतोमा आप्रवासीलाई छिराउन स्वंय रोक्न खटिएका सुरक्षाकर्मीहरु संलग्न हुन्छन् भन्ने तथ्य बाहिर आएको हो । यो घटना अमेरिकाको सबैभन्दा व्यस्त स्थल प्रवेश बिन्दु मानिने दक्षिण क्यालिफोर्नियाको हो ।कागजातविहीन आप्रवासीहरूलाई अमेरिका छिर्न दिएको आरोपमा २ जना सीमा सुरक्षाकर्मी पक्राउ परेका हुन् ।
ती अधिकारीहरूले दर्जनौँ आप्रवासी बोकेका सवारीसाधनहरूलाई आफ्नो जाँच लेनबाट अमेरिका प्रवेश गराएका थिए। त्यसबापत उनीहरूले हजारौँ डलर घुस खाएका थिए ।
उनीहरूले आफूहरू कहिले र कुन लेनमा ड्युटीमा हुने कुराको जानकारी मानव तस्करहरूलाई दिन्थे । तस्करहरूले पनि सोही समय र लेन प्रयोग गर्दै आप्रवासीहरूलाई अमेरिका प्रवेश गराउने गर्थे । तर केही समयअघि त्यसरी छिरेका केही आप्रवासीहरु पक्राउ परे ।
उनीहरुलाई प्रहरीले र्याखर्याखती पारेपछि उनीहरु सत्य ओकल्न बाध्य भए । त्यस लगत्तै प्रहरीले ती सीमा सुरक्षा अधिकारीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पश्चात् दुवै जनालाई आर्थिक लाभका लागि विदेशीहरूलाई अमेरिका ल्याउने षड्यन्त्र गरेको र सार्वजनिक पदमा बसेर घुस लिएको अभियोग दर्ता गरिएको छ ।
यो घटनाले आप्रवासीहरूलाई अमेरिका पुर्याउने जालो कुन हदसम्म फैलिएको छ भन्ने देखाएको छ ।