अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुको आयातमा १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सो जानकारी गराएकी हुन् ।
गत बुधबार मात्रै ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत अतिरिक्त शुल्कबाहेक ३४ प्रतिशत पारस्परिक आयात कर लगाएका थिए । जसको जवाफमा चीनले अमेरिकी सामानमा ३४ प्रतिशत आयात कर घोषणा गरेको थियो ।
तर चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि क्रुद्ध ट्रम्पले अर्को ५० प्रतिशत थपेर समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन तयारी बढाएको हो ।
चीनले भने अमेरिकाको पछिल्लो योजनालाई गल्तीमाथि अर्को गल्तीको संज्ञा दिएको छ । चीनले आफूहरू अमेरिकासँग नझुक्ने पनि भनेको छ ।
विज्ञहरूले भने विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका यी २ मुलुक व्यापार युद्धतर्फ उन्मुख भएको भन्दै विश्वभरका उपभोक्ता त्यसको मारमा पर्ने चिन्ता जाहेर गरेका छन् ।