पोर्चुगलमा प्रदर्शनमा नेपाली

पिआर दिन ढिलो गरेको भन्दै पोर्चुगलमा प्रदर्शनमा उत्रिए नेपाली

आप्रवासन आप्रवासन

पोर्चुगलमा नेपालीसहितका आप्रवासीहरू प्रदर्शनमा उत्रिएका छन् । रेसिडेन्स पर्मिट अर्थात् पिआरको पक्रिया निकै ढिलो गरेकाले आफूहरूले पिआर नपाएको भन्दै नेपालीसहितका आप्रवासीहरू प्रदर्शनमा उत्रिएका हुन ।

पोर्चुगलको राष्ट्रिय पत्रिका पोर्चुगल न्युजका अनुसार प्रदर्शनमा उत्रिनेमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका नागरिकहरू रहेका छन् । एक सय भन्दा बढी नेपालीसहितका आप्रवासीले पिआर जारी गर्ने एजेन्सी फर इन्टिग्रेसन, इमिग्रेसन एन्ड एसाइलमको लिस्बनस्थित कार्यालय अगाडि जम्मा भएर प्रदर्शन गरेका हुन् । 

उनीहरूले Equal Rights For ALL, We Are All Legal, No More Waiting लेखिएका प्यामप्लेटहरु बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरूले पटक पटक ताकेता गर्दा पनि पोर्चुगलका अधिकारीहरूले सुनुवाइ नगरेकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । आफूहरूको पिआर आवेदनमा तुरुन्त सुनुवाइ गरिनु पर्ने उनीहरूको माग छ ।

यसरी प्रदर्शनमा उत्रिएका नेपालीहरू पक्राउ परे नपरेको यकिन छैन ।

युरोपका अन्य गन्तव्यको दाँजोमा पोर्चुगलमा पिआर पाउन तुलनात्मक रूपमा सहज छ । यही कारण नेपालीसहितका आप्रवासी कार्ड पाउने आशाले अन्य देश छोडेर पोर्चुगल पुग्ने गरेका छन् ।