अमेरिकाले थप ८ जना नेपालीलाई देश निकाला गरेको छ । अवैध हैसियतमा अमेरिकामा रहेको भन्दै उनीहरूलाई इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट, आइसले चैत १३ देखि १९ गतेसम्मको अवधिमा नेपाल फर्काएको हो ।
जसमध्ये ५ जना मेक्सिकोको सीमा हुँदै अमेरिका छिर्ने बित्तिकै पक्राउ परेका हुन् भने ३ जना अध्यागमन कानुन उलङ्घन गरेको अभियोगमा पक्राउ परी देश निकालामा परेका हुन् ।
अमेरिकाले उनीहरूलाई एयर इन्डियाको जहाजमार्फत भारत हुँदै नेपाल पठाएको हो । यसरी फर्काइनेमा सबै जना पुरुष भए पनि थप विवरण खुलाइएको छैन ।
यसअघि गत फागुनमा १० जना नेपालीलाई चार्टर जहाजबाट नेपाल फर्काइएको थियो।
आप्रवासीमाथि कठोर नीति लिएको अमेरिकाले आप्रवासीलाई देश निकाला गर्ने क्रमलाई समेत तीव्र बनाएको छ । फलस्वरूप, चैत लागेयता मात्र १७ जना नेपालीलाई अमेरिकाले देश निकाला गरिसकेको छ ।
गत फागुनमा २३, माघमा २५ र पुसमा पनि ६ जना नेपालीलाई अमेरिकाले स्वदेश फर्काएको तथ्याङ्क छ ।
३ नेपालीलाई भने अमेरिकाले देश निकाला गरी पानामा पुर्याएको छ । पानामा पुर्याइएका ती नेपालीको अवस्था भने अज्ञात छ ।