कुवेतले वर्किङ भिसा जारी गर्नुअघि अध्ययन तह अर्थात् डिग्रीको आधिकारिता जाँच गर्ने भएको छ ।
कुवेतको पब्लिक अथोरिटी फोर म्यानपावर, पामले वर्किङ भिसाका लागि आवेदन दिनेहरूको शैक्षिक योग्यताको जाँच अनिवार्य गराएको हो । शैक्षिक योग्यता अन्तर्गत अब ३ वटा कुराहरूको परीक्षण गरिने छ ।
पहिलो, आवेदकले डिप्लोमा, ब्याचलर, मास्टर्स वा डक्ट्रेट कुन तहसम्म पढेको हो भन्ने हेरिने छ । त्यसपछि, आवेदकको विज्ञताको क्षेत्र जाँच हुने छ । अन्त्यमा, आवेदकको शैक्षिक योग्यता र विज्ञताको क्षेत्रको आधिकारिता प्रमाणित हो होइन भनेर समेत हेरिने छ ।
यी ३ विषय प्रमाणित गर्न सक्नेलाई मात्र अब वर्किङ भिसा दिने कुवेतको तयारी छ । तर यो व्यवस्था अदक्ष र अर्ध दक्ष कामदारको हकमा भने लागु हुने छैन ।
दक्ष र उच्च दक्ष कामदारले भने यी पक्रिया पार गर्नुपर्ने छ ।
कुवेतको जनसङ्ख्या साढे १५ लाख हाराहारी छ । तर कुवेतमा ६८ प्रतिशत आप्रवासी छन् जसले जनसङ्ख्या ४५ लाख पुर्याएको छ ।
कुवेतमा १ लाख बढी नेपाली छन् । विदेशी कामदारहरू प्रतिको बढ्दो निर्भरता र अवैध आप्रवासनलाई निरुत्साहित गर्न कुवेतले पछिल्लो व्यवस्था गरेको हो ।