आप्रवासीसम्बन्धी अदालतको आदेश

देश निकाला गरिएका आप्रवासीलाई फिर्ता ल्याउन अमेरिकी अदालतको आदेश

आप्रवासन आप्रवासन

अमेरिकाले देश निकाला गरी एल साल्भाडोरको जेल पुर्‍याइएका एक जना आप्रवासीलाई फिर्ता ल्याउन अदालतले आदेश दिएको छ ।

मेरिल्यान्डको ग्रीनबेल्ट अदालतले किल्मार अब्रेगो गार्सिया नाम गरेका एक आप्रवासीलाई एल साल्भाडोरबाट पुन: अमेरिका फर्काउन ट्रम्प प्रशासनलाई भनेको हो ।

कानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका ती आप्रवासीलाई अवैध र अन्तर्राष्ट्रिय ग्याङ्गस्टर सदस्य भएको भन्दै ट्रम्प प्रशासनले केही साताअघि एल साल्भाडोरको जेल पठाएको थियो । त्यस विरुद्ध अदालतमा मुद्दा परेको थियो जसको फैसला गर्दै अदालतले आउँदो सोमबार भित्रै फिर्ता ल्याउन आदेश जारी गरेको हो ।

ट्रम्प प्रशासनले पनि ती आप्रवासीलाई भूलवश देश निकाला गरिएको स्वीकार गरेको छ ।

तर देश निकाला गरिसकिएकाले अब फिर्ता पठाउने नपठाउने विषय एल साल्भाडोरको भएको भन्दै ट्रम्प प्रशासनले ती व्यक्तिलाई फिर्ता ल्याउन नसक्ने बताएको छ । बरु फैसला पुनरावेदनका लागि उच्च अदालत जाने तयारी गरेको छ ।

यो घटनाले अमेरिकाले आप्रवासीमाथि कुन तहको निर्ममता प्रदर्शन गरिरहेको छ भन्ने देखाएको छ । यस्तै, अमेरिकामा आउँदा दिनमा आप्रवासी र उनीहरूको देश निकालालाई लिएर ट्रम्प प्रशासन र न्यायालयबिच द्वन्द्व बढ्ने समेत देखिन्छ ।