अमेरिकासँग क्यानडाको बदला

अमेरिकासँग क्यानडाको बदला, लगायो २५ प्रतिशत कर

आप्रवासन आप्रवासन

अमेरिकाले कर घोषणा गरेको भोलि पल्टै क्यानडाले पनि अमेरिकामाथि प्रतिशोधात्मक कर घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामा निर्मित कार र ट्रकमा २५ प्रतिशत कर घोषणा गरेका छन् ।

अमेरिकाले बुधबार मात्रै क्यानडालगायत विदेशबाट आयात गरिने कार तथा पार्टसमा २५ प्रतिशत आयात कर लगाउने निर्णय गरेको थियो । जसको जवाफी कदमको रूपमा क्यानडाले अमेरिका माथि कर लगाएको हो ।

प्रधानमन्त्री कार्नीले यो करबाट करिब साढे ५ अर्ब डलर उठ्ने र सो रकम अमेरिकी करबाट प्रभावित व्यवसाय र कर्मचारीको सहयोगमा परिचालन गरिने बताएका छन् ।

बुधबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हालसम्मकै ठुलो कर महसुलहरू घोषणा गरेका थिए । जस अन्तर्गत नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूले १० प्रतिशत भन्सार दर सामना गर्नुपर्ने भएको छ ।

चिनियाँ सामानमा हालको २० प्रतिशत शुल्कको अतिरिक्त ३४ प्रतिशत नयाँ भन्सार शुल्क लाग्ने छ । युरोपेली सङ्घबाट हुने अमेरिका आयातमा २० प्रतिशत भन्सार शुल्क तोकिएको छ ।

यस्तै, भारतबाट अमेरिका जाने सामानमा पनि २६ प्रतिशत भन्सार निर्धारण गरिएको छ ।

ट्रम्पले नयाँ भन्सार दरले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात भएको दाबी गरेका छन् ।

यद्यपि, विज्ञहरूले भने यसरी देश देशबिच प्रतिशोधात्मक कर लगाइँदा त्यसले व्यापार युद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।