भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयले निष्कासित नेपाली विद्यार्थीलाई फिर्ता बोलाएको छ । विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै नेपाली विद्यार्थीमाथिको अस्थायी निलम्बन हटाउँदै क्याम्पस फर्कन भनेको हो ।
विद्यार्थीहरूको अध्ययनलाई बाधा नपुर्याइने र सुरक्षाको जिम्मा लिने समेत बताएको छ । कलेजले थप अप्रिय घटना हुन नदिन सहजीकरण भइरहेको जनाएको छ ।
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशङ्का गरिए पनि मृत्यु रहस्यमय छ।
घटनापछि अनुसन्धानको माग गर्दै नेपाली विद्यार्थीले माग गर्दा प्रशासनले नेपाली विद्यार्थीमाथि धरपकड गरेर निकालेको थियो । त्यसपछि भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले विश्वविद्यालय प्रशासनसँग समन्वय गरेका थिए । चौतर्फी दबाबपछि कलेजले फिर्ता बोलाए पनि घटनाप्रति माफी भने मागेको छैन ।
यद्यपि, नेपाली विद्यार्थीहरुले होस्टेल फर्किएर पढाइ जारी राख्ने स्थिति नभएको भन्दै आठ बुँदे सर्तहरु राखेका छन् । विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन भई दोषीमाथि कारबाही र कलेजले यातायात खर्च क्षतिपूर्तिसँगै माफी माग्नुपर्ने अडान राखेका छन् ।