नेपाल एयरलाइन्सको आम्दानीमा भारी गिरावट

आप्रवासन आप्रवासन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अर्थात् नेपाल एयरलाइन्सको आम्दानीमा भारी गिरावट आएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा नेपाल एयरलाइन्सले १ अर्ब ५४ करोड  आम्दानी गुमाएको हो । गत साउनदेखि फागुनसम्ममा एयरलाइन्सले ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

जबकि अघिल्लो वर्षको सोही अवधिमा निगमले १० अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अन्तर्राष्ट्रिय उडान र कार्गो सेवाबाट भएको आम्दानी हो ।

पोहोरको तुलनामा उडान र यात्रु दुवै घटेकाले त्यसको असर निगमको आम्दानीमा परेको हो । अघिल्लो वर्षको ८ महिनाको तुलनामा यो वर्ष एयरलाइन्सको यात्रु ५६ हजार ले घटेका छन् ।

चालु आर्थिक वर्षको ८ महिनामा ३ लाख ४६ हजार ५०४ यात्रुले नेपाल एयरलाइन्सबाट उडान भरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ४ लाख ३ हजार २८६ थियो ।

एयरलाइन्सको आन्तरिक तर्फ उडान ३ महिनादेखि ठप्प छ । अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू समेत मर्मतका भन्दै लामो समय ग्राउन्डेड गरिएको थियो ।

जसले गर्दा निगमलाई ठुलो आर्थिक नोक्सानी परेको हो ।