नयाँ देश, नयाँ अनुभव, तर अध्यागमन प्रक्रियाले कहिलेकाहीँ अलमलमा पार्न सक्छ। “अब के गर्ने?“ भन्ने चिन्ताले तपाईँको उत्साहलाई कम गर्न सक्छ । तर चिन्ता लिनु पर्दैन, सही तयारी र जानकारीले तपाईँको यात्रा सहज मात्र होइन, यादगार पनि बनाउँछ । विदेशमा विमानस्थलमा उत्रिएपछि के–के गर्नुपर्छ ? कसरी अध्यागमन प्रक्रिया सजिलै पार गर्ने ? पहिलो दिनलाई तनावमुक्त कसरी बनाउने ? यी सबै प्रश्नको उत्तर यो भिडियोमा पाउनुहुने छ ।
तर विदेश उड्नु अगाडी नै गर्नुपर्ने तयारीबारे कुरा गरौँ
कम्तीमा ४५० बराबरको स्थानीय मुद्रा वा अमेरिकी डलर साथमा राख्नुहोस् । प्रिपेड क्रेडिट कार्ड लिएर जानु अझ सुरक्षित हुन्छ । यस्तै रोजगारदाता कम्पनी, गन्तव्य देशमा रहेको नेपाली दूतावास वा सहयोगी नेपाली संस्थाहरूको सम्पर्क नम्बर राख्ने । यदि गन्तव्यमा पुगेपछि कुनै अप्ठ्यारो परेमा नेपालस्थित म्यानपावर कम्पनी वा स्थानीय नेपाली समुदायलाई खबर गर्न सजिलो हुने छ ।
अब कुरा गरौँ, गन्तव्य मुलुकको विमानस्थल पुगेपछि चरणबद्ध गर्नुपर्ने कामको ।
–गन्तव्य मुलुकको विमानस्थलमा उत्रिएपछि एयरपोर्ट भ्यानको प्रयोग गरी अध्यागमन विभागसम्म पुग्नुपर्छ । त्यहाँ बायोमेट्रिक जाँच (आँखा स्क्यान, फिंगर प्रिन्ट) यो प्रक्रिया पूरा गर्नुपर्छ ।
–त्यसपछि पालो आउँछ पासपोर्ट चेकिङको अध्यागमन काउन्टरमा स्वदेशी तथा विदेशी यात्रुका लागि छुट्टै लाइन हुन्छ । नेपालबाट गएका विद्यार्थी, कामदार वा अन्य जोकोही विदेशी नागरिकको लाइनमा उभिनुपर्छ । पासपोर्ट र भिसा जाँच गरेपछि अध्यागमनले अराइभल स्ट्याम्प लगाउँछ ।
–अब लगेज सेक्सनको पालो, सामान लिन बेल्ट कन्वेयरमा ध्यान पु¥याउनुपर्छ । लगेजको ट्याग मिलाएर मात्र आफ्नो सामान लैजाने ।
–त्यसपछि पालो भन्सार जाँचको भन्सार लाग्ने सामान भएमा जानकारी गराएर गरी जाँच गराउने । अनुमति नपाइने वस्तुहरू लैजानु हुँदैन, प्रतिबन्धित सामान भेटिएमा विमानस्थल प्रशासनले जफत गर्ने छ ।
–भन्सार जाँच पछि बाहिर निस्किएर आफ्नो रिसिभरको खोजि गर्ने, अराइभलमा रोजगारदाता कम्पनीबाट रिसिभर आएका हुन्छन् वा कोही साथीभाइ प्ले कार्ड बोकेर बसेका हुन्छन् ।
एयरपोर्टमा आफूलाई लिन आएका व्यक्ति नभेटेमा रोजगारदाता कम्पनीमा सम्पर्क गर्ने, त्यहाँ पनि सम्पर्क हुन नसके तुरुन्त नेपाली दूतावास वा एनआरएनएलाई सम्पर्क गर्नुपर्छ । यी टिप्स अनुसरण गर्दा अध्यागमन प्रक्रिया सहज हुन्छ र विदेश यात्रालाई तनावमुक्त बनाउन मद्दत गर्छ ।