वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकलमा अब विभिन्न ३४ वटा परीक्षण हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न सो निर्णय गरेको हो ।
अब श्रमिकको थाइराइड, मिर्गौला, सुगर लगायतका परीक्षण समेत हुने भएको छ । यसअघि श्रमिकको १२ देखि १८ प्रकारका सामान्य परीक्षण मात्रै गरिँदै आइएको थियो ।
यस्तै, मन्त्रालयले स्वास्थ्य परीक्षणको शुल्कमा समेत एकरूपता कायम गरेको छ ।
अब मेडिकल प्याकेजको ९ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसअघि मलेसिया र अन्य देशका हकमा मेडिकल शुल्क छुट्टाछुट्टै थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न मन्त्रालयमा २१५ स्वास्थ्य संस्था सूचीकृत छन् ।
मन्त्रालयले ती स्वास्थ्य संस्थालाई नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक पूर्वाधार गर्न २ महिनाको समय सीमा निर्धारण गरेको छ ।
त्यसपछि मन्त्रालयबाट निरीक्षण हुने र कार्यविधि बमोजिम पूर्वाधार तयार नगर्ने संस्थाको सूचीकरण तथा नवीकरण खारेज हुने मन्त्रालयको भनाई छ ।