प्रदूषणको असर त्रिभुवन विमानस्थलमा

प्रदूषणको असर त्रिभुवन विमानस्थलमा, उडानहरू डाइभर्ट र रद्द

आप्रवासन आप्रवासन

काठमाडौँमा बढेको प्रदूषणको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरूमा परेको छ । प्रदूषणयुक्त तुवाँलोका कारण काठमाडौँमा भिजिबिलिटी न्यून हुँदा सोमबार मात्रै ४ वटा अन्तर्राष्ट्रिय उडान डाइर्भट र १५ आन्तरिक उडान रद्द गरिएका छन् ।

विमानस्थल कार्यालय अनुसार तुवाँलोका कारण भिजिबिलिटी ११ सय मिटरमा झरेको छ । जसले गर्दा सोमबार भारतबाट आउँदै गरेका एयर इन्डियाका २ उडान बनारस डाइभर्ट भए ।

दुबईबाट आउँदै गरेको फ्लाई दुबईको उडान पनि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको थियो । यस्तै, कुवेतबाट आएको जजिरा एयरवेज पनि अवतरण गर्न नसकेर बनारस डाइभर्ट भयो।

आन्तरिक उडानमा समेत भिजिबिलिटीको समस्या देखिएको छ । सोमबार बुद्ध एयरले पोखरा र पर्वतीय उडान रद्द गर्नु परेको थियो भने ७ वटा उडान मर्ज गरेको थियो । यति एयरलाइन्सले ५ वटा उडान रद्द गर्दा श्री एयरलाइन्सले पर्वतीय र तारा एयरले ५ उडान रद्द गरेको थियो ।

वायु प्रदूषणका कारण हाल काठमाडौँको आकाश तुवाँलोले ढाकेको छ जसको असर उडानमा परेको हो ।