अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई तत्काल देश छाड्न आदेश जारी गरेको छ । मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा सयौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई इमेल पठाउँदै तत्काल स्व–निर्वासित हुन आदेश दिएको हो ।
मन्त्रालयको यो आदेश विश्वविद्यालयहरूमा विरोध प्रदर्शनमा उत्रिएको वा प्रदर्शनको समर्थन गर्ने विद्यार्थीहरू प्रति लक्षित छ ।
सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत इमेल पठाइएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि निगरानी बढाउन क्याच एन्ड रिभोक नामक एआई एप्लिकेसनको प्रयोग गरिरहेको छ । जसले विद्यार्थीहरूले सामाजिक सञ्जालमा गर्ने पोस्टहरूको निगरानी गर्ने बताइएको छ ।
केही दिनअघि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले राष्ट्र विरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए । त्यस लगत्तै ३ सय विद्यार्थीको भिसा रद्द भइसकेको छ ।
अमेरिकामा हाल १६ हजार ७४२ जना नेपाली विद्यार्थीसँगै ११ लाख ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । यद्यपि, हालसम्म नेपाली विद्यार्थीहरूले त्यस्ता इमेलसँगै देश छाड्न आदेश पाए नपाएको यकिन छैन ।