भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ ।
हाल विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतको काम जारी रहँदा दैनिक १४ घण्टा मात्र खुल्दै आएको छ । तर ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएसँगै विमानस्थल खुल्ने अवधि बढाइन लागिएको विमानस्थल कार्यालयले जनाएको हो ।
अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहने छ । समानान्तर ट्याक्सी वे निर्माणको काम जारी नै रहे पनि त्यसले उडान रोक्नु नपर्ने भन्दै कार्यालयले सञ्चालन अवधि थप गरेको हो ।
गत कात्तिक २३ अघिसम्म विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको थियो । तर कात्तिक २३ गतेदेखि राती ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द हुँदै आएको थियो ।
जसबाट धेरै अन्तर्राष्ट्रिय उडान कटौती हुँदा यात्रुहरूले महँगो भाडा तिर्न परिरहेको छ ।
तर विमानस्थल सञ्चालनको अवधि बढ्ने भएसँगै जहाज कम्पनीहरूको उडान सङ्ख्या समेत थपिने छ । जसले गर्दा हवाई भाडा समेत घट्ने अपेक्षा छ ।