आप्रवासीलाई देश निकाला

आप्रवासीलाई तेस्रो देश निकाला गर्न अमेरिकी अदालतको रोक

आप्रवासन आप्रवासन

अमेरिकाको एक सङ्घीय अदालतले आप्रवासीहरूलाई निकाला गरी तेस्रो देश पठाउन अस्थायी रूपमा रोक लगाएको छ । बोस्टन जिल्ला अदालतले आप्रवासीलाई तेस्रो देशमा आफ्नो निष्कासनविरुद्ध अदालतमा चुनौती दिने हक भएको भन्दै त्यो मौका नदिई देश निकाला नगर्न भनेको हो ।

देश निकाला गरी आप्रवासीलाई तेस्रो देश पठाउने ट्रम्प प्रशासनको कदमविरुद्ध विभिन्न अधिकारवादी समूहले अदालतमा मुद्दा दायर गरेका थिए । जसमाथि सुनुवाइ गर्दै अदालते सो अन्तरिम फैसला सुनाएको हो ।

योसँगै अब आप्रवासीहरूले तेस्रो देश पठाइँदा आफ्नो सुरक्षामा जोखिम पर्न सक्ने तर्क अदालतमा राख्न पाउने भएका छन् । तर अदालतको यो निर्णयले आप्रवासीहरूलाई तेस्रो देश पठाउँदै आएको ट्रम्प प्रशासनलाई भने धक्का पुगेको छ ।

स्वदेश फिर्ता गर्न गाह्रो भएको अवस्थामा हाल आप्रवासीहरूलाई पानामा, कोस्टारिका, एल साल्भाडोर जस्ता  देशमा पठाउने गरिएको छ । त्यसका लागि अमेरिकाले ती देशहरूसँग छुट्टै सम्झौता नै गरेको छ ।

गत महिना मात्रै ३ जना नेपालीसहित भारत, चीन, पाकिस्तानका ११९ जना आप्रवासीलाई पानामा पठाइएको थियो ।