जापानमा चामलको भाउ आकासिएपछि आपत्कालीन भण्डारबाट झिकेर वितरण गरिने भएको छ । जापान सरकारले बजार महँगीसँग जुध्न आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामल भण्डारबाट निकाल्ने निर्णय गरेको हो । जापानले अब आफ्नो १० लाख टनको भण्डारबाट झिकेर २ लाख १० हजार टन चामल वितरण गर्ने छ ।
विगतमा ठुला विपत्तिको अवस्थामा मात्र जापानले चामल भण्डार प्रयोग गर्ने गरेको थियो । तर जलवायु परिवर्तनले निम्त्याएको अत्यधिक गर्मीका कारण जापानमा सन् २०२४ सबैभन्दा तातो वर्ष कायम भएको थियो । जसले गर्दा पर्याप्त धान उत्पादन हुन पाएन र बजारमा चामलको कमी देखियो । फलस्वरूप जापानमा चामलको भाउ ५० प्रतिशतले वृद्धि भएको छ । सरकारी सर्वेक्षणअनुसार चालु फेब्रुअरी महिनामा ५ केजी चामलको पोकाको मूल्य ३ हजार ६८८ येन छ । जबकि गत वर्षको फेब्रुअरीमा ५ केजी चामलको मूल्य २ हजार २३ येन थियो ।
यसले जापानमा रहेका नेपालीलाई समेत प्रत्यक्ष मारमा पारेको छ । तर सरकारको पछिल्लो निर्णयले जापानमा रहेका नेपालीलाई समेत राहत मिल्ने अपेक्षा छ । नेपालमा जस्तै जापानमा पनि चामल मुख्य खाद्यान्न हो ।