क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो नाता सकिएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि बोल्दै प्रधानमन्त्री कार्नीले अमेरिकासँग मूल रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा सहयोगलाई गहिरो बनाउने कुरामा आधारित सम्बन्ध रहेकोमा अब त्यो समाप्त भएको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडामाथिको कर लगाउने निर्णयले अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पारेको कार्नीले उल्लेख गरेका छन् ।
ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसको प्रत्यक्ष असर क्यानडामाथि समेत पर्ने छ ।
जसको बदलामा अब क्यानडाले पनि अमेरिकाविरुद्ध प्रतिशोधात्मक कर लगाउने कार्नीको योजना छ । यसले अमेरिकामा ठुलो प्रभाव पर्ने उनको भनाइ छ ।
पछिल्लो समय क्यानडा र अमेरिकाको सम्बन्धमा दरार आएको छ । ट्रम्पले व्यापार युद्ध छेडेका कारण क्यानडाको अर्थतन्त्र धरमराउने चिन्ता छ । यस्तै, क्यानडामा महँगीसँगै बेरोजगारी थप बढ्ने आङ्कलन छ ।
पछिल्लो परिस्थितिको मारमा क्यानडामा रहेका नेपालीहरू समेत पर्ने देखिन्छ ।