डेनमार्क सरकारले नेपाली विद्यार्थीहरूलाई काम गर्न नदिने नियम ल्याउने तयारी गरेको छ । सरकारले गैरसरकारी वा निजी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूलाई रोजगार अनुमति नदिने तथा उनीहरूका पार्टनरलाई समेत डेनमार्क बस्न नदिने निर्णय गर्न लागेको हो ।
डेनिस ट्रेड म्यागेजिन फ्यागब्लेडट थ्रीएफमा प्रकाशित समाचारअनुसार, नेपाली विद्यार्थीहरूको सस्तो श्रमका कारण श्रम बजार बिग्रिएको निष्कर्ष निकाल्दै डेनमार्क सरकारले यस्तो कदम चालेको हो । डेनमार्कमा होटेल, रेस्टुराँ तथा सफाइसम्बन्धी कम तलबका कामलाई थ्रीएफ पेसाको रूपमा चिनिन्छ ।
पछिल्लो समय ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू यस्ता क्षेत्रमा कार्यरत छन् । डेनमार्कमा रहेका धेरै नेपाली विद्यार्थीले बेरोजगारीको समस्या भोग्दै गर्दा नयाँ नियमले थप सङ्कट पर्ने छ ।
डेनमार्कमा २०२२ मा १ सय ९१ जना मात्र नेपाली विद्यार्थी रहेका थिए भने सन् २०२४ सम्ममा यो सङ्ख्या १ हजार ८५ पुगेको छ ।
नेपाली विद्यार्थीको बढ्दो उपस्थितिलाई लिएर डेनिस सरकारले अनुसन्धान थालेको थियो । जसले विद्यार्थी भिसा लिएर डेनमार्क जाने धेरै नेपालीहरूको वास्तविक उद्देश्य बसाइँ सराइ रहेको निष्कर्ष निकालेको छ ।
सरकारको अनुसन्धानले नेपालबाट विद्यार्थी पठाउने एजेन्टहरू र डेनमार्कमा काम दिनेमध्ये केही रोजगारदाता आपसी मिलेमतोमा रहेको देखाएको छ ।