सन् २०२४ मा सिमापार गर्ने क्रममा ८ हजार बढी आप्रवासीको ज्यान गएको पाइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमले २०२४ मा विश्वभरि आप्रवासन मार्गहरूमा ८ हजार ९३८ जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
गत वर्ष एसियाका रुटमा सबैभन्दा धेरै आप्रवासीहरूले ज्यान गुमाएका छन् । एसियामा २ हजार ७७८ आप्रवासीको मृत्यु भएको हो ।
त्यसपछि भूमध्य सागरको रुटमा २ हजार ४५२ र अफ्रिकी रुटमा २ हजार २४२ आप्रवासीले मृत्युवरण गरेको रेकर्ड छ । युरोपेली मार्गमा ज्यान गुमाउने आप्रवासी १ हजार २३३ छन् ।
गन्तव्य हिँडेका आप्रवासीहरूमध्ये बाटोमै ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
सन् २०२४ मा मृत्यु हुनेको सङ्ख्या पछिल्लो ११ वर्षयताकै सर्वाधिक र ५ वर्षको तुलनामा दोब्बर हो । सन् २०२३ मा पनि सिमापार गर्ने क्रममा ८ हजार ७४७ आप्रवासी मृत्यु थियो।
सन् २०२२ मा ७ हजार ५ र सन् २०२१ मा ६ हजार २७६ आप्रवासीले सो क्रममा ज्यान गुमाएका थिए । सन् २०२० मा यो सङ्ख्या ४ हजार ३३० थियो ।
आइओएमले कागजात नभएको र रेकर्डमा नआएका आप्रवासी समेतलाई जोड्दा वास्तविक मृत्युको सङ्ख्या धेरै हुन सक्ने जनाएको छ ।
कष्टकर बाटोको अवैध यात्रा, हिंसा, भोक प्यास, कमजोर स्वास्थ्य जस्ता कुराले आप्रवासी मार्गहरूमा आप्रवासीहरूको ज्यान गइरहेको छ ।